बिर्तामोड । झापामा हात्तीको संख्या बढेसंगै मानव हात्ती द्वन्द बढ्दै गएको छ । बिगतका १४ वर्षलाई नियाल्ने हो भने  झापामा हात्तीको आक्रमणबाट ६७ जनाले ज्यान गुमाएका छन् भने २१ वटा हात्ती मरेका छन्।

मानव हात्ती द्वन्द बढ्नुमा  झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको संख्या बढ्नु हो  । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको संख्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए। उनका अनुसार २०७५ सालमा १०–१२ वटा हात्ती रहेकामा हाल ३० भन्दा धेरै पुगेका छन् । 


भारतबाट आहाराको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको संख्या बढ्दै गएको उनले बताए। पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेका हात्ती हाल जिल्लाभर देखिन थालेको छ । जिल्लामा धान, मकैलगायत बाली बर्षभरिनै लगाउन थालेसंगै  हात्तीबाट जनधनको क्षति बढ्दै गएको उनको भनाइ छ। 


झापासहित पूर्वी नेपालमा मान्छेले हात्ती मर्ने र हात्तीले मान्छे मार्ने क्रम अहिले पनि जारी छ । मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि हुँदै गएपछि यसको न्यूनीकरणसँगै स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले हात्ती पर्यटन विकासका लागि प्रयास समेत हुन थालेको छ । तर दुवै तर्फको ज्यान जोगाउने तर्फभने दासै प्रगती हुँन सकेको छैन ।

मानव र हात्तीबिचको सहअस्तित्व हात्ती पाइने क्षेत्रका प्रायजसो सबैको चासोको विषय भए पनि ठोस रुपमा काम अघि बढ्न सकेको छैन । फागुनको पहिलोसाता कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदारकार्कीले हात्ती हिँड्ने बाटोको अवलोकन र भ्रमण गरेपछि यस विषयले निक्कै चर्चा पाएको थियो ।


उहाँले झापाको बाहुँण्डागीदेखि उदयपुरको बेलटारसम्म जङ्गलनै जङ्गल सरोकारवाला निकायसहित २५० किलोमिटर पैदलयात्रा गर्नुभएको थियो । यसको उद्देश्य हात्ती पर्यटनको सम्भावाना खोज्नु रहेको बताइएको थियो । हात्ती करिडोर निर्माण तथा हात्तीको पुरानो जैविक बाटोको पहिचान गर्ने भनेर यो यात्रा भएको थियो ।

भारतबाट सयौंको सङ्ख्यामा एकैसाथ नेपालमा हात्ती प्रवेश गर्ने गरेका छन् । बाहुण्डाँगी र आसपास मेचीनगर किनार हुँदै हात्ती प्रवेश नगरेको दिन नहुने स्थानिय बताउछन् ।


हात्तीहरु परम्परागत रुपमा हिँड्ने जङ्गल क्षेत्रहरु मानव बस्ति र कृषि क्षेत्रहरुमा परिणत हुँदा हात्तीहरुको नियमित आवागमनमा अवरोध पुगेकाले मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको बाहुण्डागीकै हात्ती संरक्षण कर्मी शंकर लुइटेल बताउछन् । हात्तीको आनीबानीको बिषयमा जानकार भएर होशियारी अपनाउने हो भने क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर यहाँका बासिन्दाले बुझ्न थालेको लुइटेलको भनाइ छ ।

समुदायले हात्तीप्रति गर्ने नकारत्मक व्यवहार परिवर्तन गराई हात्तीबाट हुने मानवीय क्षति न्यूनीकरण गर्ने प्रयास अनुसार हात्ती पर्यटनको सम्भावाना खोजी र काम पनि सुरु भएको छ । तरपनि हात्ती मानव द्वन्द कमहुँने कुनै छाँट काँट देखिदैन । हरेक चुनावमा सवै राजनितिक पार्टीको प्रमुख एजेण्डा हात्ती नियन्त्रण गर्ने हुन्छ । तर चुनाव जितेर गएपछि ति एजेण्डा पनि सेलाउने गरेका छन् ।