झापा, चैत ३० गते। प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेकाले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु नहुने बताउनुभएको छ।
नेकपा (एमाले)को झापा जिल्ला कमिटीले शनिबार दमकमा आयोजना गरेको जागरणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेलाई जनताले नपत्याएको प्रष्ट पार्नुभयो।
“देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ। आन्दोलनका नाममा बैँक डुबाउने, आगजनी गर्ने रक्सीका बोतल लुटेर भाग्नेले जनताले फ्याकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले भ्रम पाल्नु पर्दैन।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “विगमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए। अदालतको समेत प्रयोग गरेर हामीलाई सरकारबाट बाहिर पठाए। तर जनताको अभिमतबाट हामी पुनः सरकारको नेतृत्वमा आएका छौँ। अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौँ। तपाईंहरू अस्थिरतावादीको कुनै भ्रममा पर्नु पर्दैन।”
प्रधानमन्त्री ओलीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजना अब अगाडि बढ्ने जनाउँदै आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढङ्गले अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने जनाउनुभयो। उहाँले कृषिको आधुनिकीकरण र विस्तारका लागि प्राथमिकता दिँदै उद्यमशीलताको विकास गर्न सरकारले प्राथमिकता दिने बताउनुभयो। “हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्त्वपूर्ण कानुन ल्याएका छौँ। भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ। यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा रहेको छ। घाटामा रहेको अर्थतन्त्र उकालो लाग्न थालेको छ।”, उहाँले भन्नुभयो, “भूमिहीन सुकुम्वासीका समस्या समाधान गर्न अब आउने संसदको अधिवेशनको सुरुमै कानुन ल्याइने छ। मुलुकलाई गरिबीबाट मुक्त गराउन हामी क्रियाशील रहनेछौँ। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी दत्तचित्त भएर लाग्ने छौँ। एमाले बिनाको नेपालको सपना देख्नेहरूको देशद्रोही सपना पूरा हुँदैन। एमाले झन ठुलो भएर विजयी भएका आउने छ। जनतामा आधारित यो पार्टी देशको भविष्य हो। एमाले असफल भए देश असफल हुन्छ।”
कोशी प्रदेश विविधतायुक्त र जागरुक प्रदेश भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस जागरणलाई व्यवहारमा उतार्न एमालेको प्रदेश र मातहतका कमिटी नयाँ उत्साहका साथ सक्रिय र चुस्त दुरुस्तरूपमा घरघर र व्यक्ति व्यक्तिमा पुग्ने गरी परिचालित हुनुपर्ने बताउनुभयो।प्रधानमन्त्री ओलीले युवालाई आफ्नो देश आफैले बनाउनुपर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताउनुभयो।
एमालेले वैशाख ११ गते (लोकतन्त्र दिवस) का दिन काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्षमुनिका युवाहरू काठमाडौँ आएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन आव्हान गर्नुभयो। “एमालेको साथमा युवा छैनन्। एमालेका युवा सकिए भन्नेहरूलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौँ। म चुनौतीका साथ भन्छु, अरू कुनै पार्टीले यति धेरै युवालाई भेला पार्न सक्दैन।” प्रधानमन्त्री ओलीले युवाहरूले आफ्नो सामर्थ्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा एमालेका उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराईलगायत सहभागी कार्यक्रममा कोशी प्रदेश इन्चार्ज शेरधन राई, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले सम्बोधन गर्नुभएको थियो।


























































