काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घले जेन–जी आन्दोलनबाट प्रारम्भिक रूपमा झन्डै ८० अर्ब रुपैयाँ बराबरको निजी सम्पत्तिमा क्षति पुगेको जनाएको छ । आज निजी क्षेत्रका प्रतिनिधिले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आँकलनबारे जानकारी गराएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको भेटमा अर्थतन्त्र पुनर्स्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता कायम गर्न आग्रह गरेको बताउनुभयो । अहिलेको विषम अवस्थाले निजी लगानी थप निरुत्साहित हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको पनि उहाँको भनाइ छ ।
कर छुट, साना तथा मझौला उद्यमका लागि उत्पादनमा आधारित राहत र सहुलियतपूर्ण कर्जाको आवश्यकताका साथै बजेट पुनरावलोकन गरी अनावश्यक शीर्षकको रकम पुनर्निर्माणमा उपयोग गर्न सकिने महासङ्घको सुझाव छ ।
निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारले आर्थिक प्याकेज ल्याएर निजी क्षेत्रलाई अघि बढ्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।






























































