आरिफ शेखको अर्धशतकको सहयोगमा नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा नेदरल्याण्ड्सलाई २ सय ३७ रनको मध्यम लक्ष्य दिएको छ ।
स्कटल्याण्डको डण्डीमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो ।
नेपालका आरिफले अर्धशतकीय इनिङ खेले। ८५ बलमा ७ चौका र २ छक्कासहित उनले सर्वाधिक ८४ रनको योगदान गरे । आरिफको यो ओडिआई करियरको सर्वाधिक रन हो ।
आरिफले गत साता स्कटल्यानमडसँगको खेलमा पनि अर्धशतक प्रहार गरेका थिए । आरिफले त्यो खेलमा ७८ रन बनाएका थिए ।
भीम सार्कीले ३८ बलमा ३ चौकाको सहयोगमा ३५ रन बनाए । तेस्रो विकेटका लागि भीम र कप्तान रोहितकुमार पौडेलले ७९ बलमा ५९ रनको साझेदारी गरे । रोहित र भीम माइकल लेभिटको बलमा आउट भए ।
उपकप्तान दीपेन्द्रसिंह ऐरी २४ बलमा १ चौकाको सहयोगमा १६ रन जोडे । सिरिजको अन्तिम खेलमा मौका पाएका बसिर अहमदले २५ बलमा ११ रन बनाए । करण केसी १९ बलमा १ चौकाको सहयोगमा ११ रनमा आउट भए । नन्दन यादव १० रनमा अविजित रहे ।
नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई १८ रनमा गुमाएको थियो । कुशलले १९ बलमा २ चौका प्रहार गरे । दोस्रो विकेटका रुपमा १६ बल सामना गरेका अनिल साह २ रनमा आउट भए । नेपालका दुवै ओपनरलाई पल भान मेकरेनले आउट गराए ।
नेदरल्याण्ड्सले १० रन पेनाल्टी स्वरुप पायो । दोस्रो इनिङको सुरुवातमा नेदरल्याण्ड्सले कुनै बलको सामना नगरी १० रन पाउने छ । नेदरल्याण्ड्सका लागि पल भानले ४, लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।
नेपालले घरेलु टोली स्कटल्याण्डसँग आइतबार खेलेको टोलीबाट ३ खेलाडी परिवर्तन गरिएको थियो । चोटग्रस्त गुलशन झा र सोमपाल कामीका साथ आसिफ शेखलाई आराम दिइएको थियो । उनीहरुको ठाउँमा नन्दन यादव, बसिर अहमद र अनिल शाहले मौका पाएका छन् ।
नन्दनको ओडिआई यो डेब्यु खेल हो । गत महिना मात्र नन्दनले टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । नन्दन नेपालका लागि ओडिआई खेल्ने ४२औं खेलाडी हुन् ।
बसिरले पनि लामो समय पछि ओडिआई टोलीमा पुनरागमन गरेका हुन् । बसिरले पछिल्लो ओडिआई सन् २०२२ जुलाई १६ मा नामिबियाविरुद्ध खेलेका थिए ।