तेह्रथुम, आठराई –

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं. १  सक्रान्ति बजारको अगुवाइमा देउरालीमा रहेको धार्मिक स्थल चण्डी भगवती मन्दिर परिसरमा शनिबार सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।

वडाध्यक्ष प्रेमराज फोम्बोको नेतृत्वमा सम्पन्न सो सरसफाई कार्यक्रममा वडा नं. १ का जनप्रतिनिधि, स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा त्रिमोहन माध्यमिक विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको चण्डी भगवती मन्दिरमा दैनिक सयौं भक्तजनहरू पूजा अर्चनाका लागि आउने गर्दछन्। यस्तो अवस्थामा मन्दिर परिसरलाई सफा र व्यवस्थित राख्नु सबैको जिम्मेवारी भएको भन्दै वडाध्यक्ष फोम्बोले सामूहिक सरसफाई अभियानको आवश्यकता र उद्देश्यबारे प्रकाश पारे।

“धार्मिक स्थलहरूमा स्वच्छता कायम राख्न सक्यौं भने त्यसले हाम्रो संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्नेछ,” फोम्बोले बताए। उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा अन्य सामुदायिक क्षेत्रहरूमा पनि सफाइ अभियान चलाइने जानकारी दिए।

स्थानीय स्तरमै सरसफाईजस्ता सामाजिक कार्यहरूलाई प्राथमिकता दिई समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्दै अघि बढ्नु आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

यस सरसफाई कार्यक्रमले धार्मिक स्थलको वातावरणमा थप स्वच्छता ल्याउनुका साथै जनचेतना अभिवृद्धिमा पनि टेवा पुर्याएको छ।