तेह्रथुम, आठराई – तेह्रथुमको आठराई गाउँपालिकाले गाउँको पहिचान झल्काउने औपचारिक गानका लागि आयोजना गरेको रचना आह्वानमा खाम्लालुङ निवासी साहित्यकार तथा शिक्षक दया सागर ढुंगेलको रचना चयन भएको छ।
गाउँपालिकाले केही समयअघि गान रचना आह्वान गर्दै सर्वसाधारणबाट रचना मागेको थियो। प्राप्त रचनामध्येबाट छनोट समितिले ढुंगेलको रचना उत्कृष्ट ठहर गर्दै कार्यपालिकामा सिफारिस गरेको थियो। कार्यपालिकाले समितिको सिफारिस अनुसार निर्णय गर्दै गानको रूपमा ढुंगेलको रचना स्वीकृत गरेको हो।
ढुंगेल आठराई–२ स्थित महेन्द्र माविका शिक्षक समेत हुन्। उनी साहित्य, शिक्षा र सांस्कृतिक क्षेत्रमा सक्रिय व्यक्ति हुन्। यसअघि पनि उनले विभिन्न साहित्यिक कृति मार्फत आफ्नो पहिचान स्थापित गरिसकेका छन्। साथै, उनी प्रगतिशील लेखक सङ्घ (प्रलेस) तेह्रथुमका अध्यक्ष समेत रहि योगदान दिँदै आएका छन्।
गाउँपालिकाको गान निर्माणसँगै आठराईको सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउने आशा गरिएको छ। चयनमा परेका ढुंगेलको रचनाले स्थानीय इतिहास, संस्कृति, प्रकृति र जनजीवनलाई समेटेको बताइएको छ।
आठराई गाउँपालिकाले निकट भविष्यमा गानलाई संगीतमा ढालेर सार्वजनिक गर्ने तयारी समेत गरिरहेको छ।