बिर्तामोड, झापा – समाजमा बढ्दो लागूऔषध दुर्व्यसन र मोबाइलको अत्यधिक प्रयोगले बालबालिकाको मानसिक तथा सामाजिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको सन्दर्भमा, बिर्तामोड–५ स्थित बिग ब्रदर ब्याडमिन्टन हलले बालबालिका तथा युवाहरूलाई स्वस्थ र रचनात्मक गतिविधिमा संलग्न गराउने उद्देश्यसहित विभिन्न इनडोर खेलहरू सञ्चालन गर्ने घोषणा गरेको छ।

हलका सञ्चालकहरूले जानकारी दिएअनुसार, अब यहाँ ब्याडमिन्टनका अतिरिक्त टेबल टेनिस, डार्ट, सुटिङ, चेस जस्ता खेलहरू पनि सुरु गरिनेछन्। प्रशिक्षकहरूको निगरानीमा खेल प्रशिक्षण सञ्चालन हुने व्यवस्था गरिएको छ भने लामो समय खेलमा संलग्न हुने प्रशिक्षार्थीहरूका लागि पानी र खाजाको व्यवस्था पनि सुनिश्चित गरिएको छ।

बिग ब्रदर ब्याडमिन्टन हलका सञ्चालक उमेस बाेहाेराका अनुसार, बिर्तामोडको मध्य भागमा अवस्थित यस खेलकुद केन्द्रलाई झापाको इनडोर खेलकुदको 'हब' बनाउने लक्ष्य राखिएको छ। सुविधा सम्पन्न पूर्वाधार र आवश्यक प्रशिक्षकको व्यवस्थासमेत पूरा भइसकेको जनाइएको छ।

यसै क्रममा झापा जिल्ला टेबल टेनिस संघको आयोजनामा र बिग ब्रदर ब्याडमिन्टन हलको संयोजनमा जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिता आयोजना हुने तयारी भइरहेको अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए। प्रतियोगितामा झापा जिल्लाभरका खेलाडीहरूको सहभागिता रहनेछ।

अग्रवालले इनडोर खेलकुद अभियानलाई सफल बनाउन सञ्चारकर्मी तथा स्थानीयवासीहरूलाई सहयोग र प्रचारप्रसारमा योगदान दिन आग्रह गरेका छन् ।