काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशलाई खेल पर्यटनबाट विश्वमाझ परिचित गराउन मुस्ताङमा विश्वकै हाई अल्टिच्युटको खेल मैदान निर्माण भइरहेको बताएका छन्।
बिहीवार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले खेलमैदान निर्माण भएपछि विश्वभरका खेलाडीहरुलाई भ्रमणका लागि आकर्षित गर्ने गरी खेल पर्यटनको प्रवर्द्धन गरिने बताए।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश पर्यटकीय गतिविधिका लागि सम्भावनाले भरिपूर्ण भएको क्षेत्र भएकाले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको बताए।
प्रदेश सरकारले पर्यटकीय राजधानीका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माण तीव्र गतिमा गरिरहेको उनको भनाइ छ।
उनले पछिल्लो समय प्रदेशमा रहेका मुक्तिनाथ, त्रिवेणीधाम, पञ्चकोटलगायत मठमन्दिरहरु विश्वभर परिचित हुन थालेकाले धार्मिक पर्यटनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए।
उनले स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ पोखरा भएको बताएका छन्। उनले आन्तरिक पर्यटकहरु पनि घरबाहिर निस्किएर कतै घुम्न जाउँ भन्दा पोखरा नै पहिलो रोजाइमा पर्ने दावीसमेत गरे।
‘गण्डकी प्रदेश निश्चय पनि एउटा पर्यटकीय सम्भावनाले भरिपूर्ण भएको प्रदेश नै हो। अहिले पनि नेपालमा आउने पर्यटकहरु विदेशी पर्यटकहरु काठमाडौँ आइसकेपछि काठमाडौँ बाहिर कहाँ जाने भन्दा पहिलो रोजाइ पोखरा हुन्छ र स्वदेशीको पनि घरबाहिर निस्केपछि जाने पहिलो गन्तव्य पोखरा नै हुन्छ‚’ उनले भने, ‘जहाँ सम्भावना छ त्यसलाई धार्मिक पर्यटनको क्षेत्रको रुपमा अगाडि बढाउँदै छौँ भने संसारकै हाई अल्टिच्युटको खेल मैदान मुस्ताङमा बनाइरहेका छौँ। कोही पनि संसारभरका खेलाडीले एक पटक त्यो खेलमैदानमा जाने इच्छा व्यक्त गरुन् र त्यहाँ पुग्ने संसारका खेलाडी र खेलको माध्यमबाट पनि प्रदेशलाई चिनाउन पर्छ भनेर काम अगाडि बढाइरहेका छौँ।’
मुख्यमन्त्री पाण्डेले नेपालमा केही पनि हुन सकेन भन्ने भाष्य निर्माण खोजिएको भन्दै २०४८ सालपछिका ३० वर्षमा भएका भौतिक पूर्वाधारका कामहरुको अध्ययन गर्न सुझाव दिए।
गाउँका जनतालाई उत्पादनमा जोडेर आर्थिक आर्जन गर्ने अवस्थामा पुर्याउन सके कोही पनि निराश हुन नपर्ने उनको भनाइ छ।