ताप्लेजुङ — फुङलिङ नगरपालिका–१० फुरुम्बुका टेकमान भट्टराईले यस वर्ष अहिलेसम्मकै उच्च मूल्यमा चिरोइतो बेचेर मनग्गे आर्जन गरे । कोभिड महामारीका बेला ६० रोपनी जग्गामा ७ किलो चिराइतो छरेका भट्टराईले १ हजार १ सय २५ रुपैयाँका दरले ७ क्विन्टल चिराइतो घरबाटै बिक्री गरेको जनाए ।
यसअघि ०५३ सालमा उनले प्रतिकिलो ८ सय रुपैयाँमा चिराइतो बेचेका थिए । अहिले त्यति बेला पाएको भन्दा पनि राम्रो मूल्य पाएको उनको भनाइ छ । ‘राम्रै मूल्य आएकाले सन्तुष्ट छु,’ उनले भने । फक्ताङलुङ गाउँपालिका–४ इखावुका अम्बरसिं माबोहाङले पनि यसपालि १ हजार रुपैयाँ प्रतिकिलो दरमा आफ्नै उत्पादन २ क्विन्टलसहित गाउँबाट संकलित २० क्विन्टल जति चिराइतो बेचे ।
झापा बिर्तामोडका व्यापारी हरि मिश्रले किसानबाट चिराइतो संकलन गरेर भारतमा बेच्छन् । गत वर्ष एक लाख रुपैयाँ क्विन्टलमा किसानबाट चिराइतो किनेका उनले यसपालि भने एक लाख तीस हजार रुपैयाँका दरले चिराइतो किने । चिराइतोको मूल्य अहिलेसम्मकै उच्च रहेको र गत वर्षको तुलनामा किसानले क्विन्टलमै ३० हजार बढी मूल्य पाएको उनको भनाइ छ ।
गाउँमा उत्पादित चिराइतो बजारसम्म लैजान डिभिजन वन कार्यालयमा प्रतिकिलो १५ रुपैयाँ राजस्व बुझाउनुपर्छ । गत वर्ष चिराइतो निकासीबाट ४९ हजार ५ सय रुपैयाँ राजस्व उठेकामा यस वर्ष ८० हजार ३ सय रुपैयाँ संकलन भइसकेको डिभिजन वन अधिकृत बद्रीप्रसाद शाहले जनाए ।
चिराइतो संकलन गरेर जिल्लाबाहिर लैजान अनेक प्रक्रियागत झन्झट रहेको चिराइतो संकलक व्यापारी बताउँछन् । चिराइतो संकलन पुर्जी, छोट पुर्जी, निकासीलगायतका कागजात भदौ–असोजदेखि नै बनाउनुपर्ने पाँचथरका चिराइतो संकलक रुद्र अधिकारीले जनाए ।
झार वर्गको यो वनस्पति संकलनका लागि २८ महिनामा मात्रै योग्य हुने गरेको छ । तर एक पटक लगाएपछि बर्सेनि लगाउनु भने पर्दैन । पाकेको फूल आफैं झर्छ र त्यहीँ उम्रन्छ । पहिलो वर्ष काण्डवृद्धि नभई त्यसबाट पात पलाई मुला जस्तो हुने, दोस्रो वर्ष जमिनमाथि काण्ड विकास भई हरेक आँख्लामा हाँगा र पात पलाएर आउने र यसमा फूल फुल्ने र बीउ लाग्ने किसान बताउँछन् । दुई वर्षमा सप्रेको बोट १.५ मिटरसम्म अग्लो हुने उनीहरूको भनाइ छ ।
भारतको मुम्बई र पटनाको चिराइतोको सबैभन्दा ठूलो बजार रहेको व्यवसायीले जनाए । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट गत आर्थिक वर्ष १ लाख १८ हजार ५ सय किलो चिराइतो भारत निर्यात भएको बताइएको छ ।